दैलेख : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले कर्णाली प्रदेशका सबै जिल्लाहरूमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षणसँगै यहाँको पर्यटन विकासमा सबैको भूमिका आवश्यक रहेको बताएका छन् ।
राष्ट्रि लोक तथा दोहोरीगित प्रतिष्ठान जिल्ला शाखा दैलेखको आयोजना सुरु गरिएको पर्यटन, व्यापार तथा सांस्कृतिक ‘महोत्सव’ २०७९ को उद्घाटन समारोहमा बोल्दै मन्त्री शाहले अन्य प्रदेश भन्दा कर्णाली प्रदेश पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकाले यहाँ रहेका मृत्रअमृत्र ऐतिहासिक सम्पदाको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
उनले दैलेख आफैमा कलासंस्कृतिले भरिपूर्ण जिल्ला रहेकाले यहाँ भएका पर्यटकीय स्थलको संरक्षणसँगै प्रचार प्रसार गरी पर्यटकको आकर्षण बढाउनुपर्ने धारणा राखे । मन्त्री शाहले दैलेखका पर्यटकीय स्थलको प्रचार प्रसार गर्न नसक्नु सबैको कमजोरी रहेको बताएका छन् । उनले पर्यटन विकाससँगै मुलुक आर्थिक समृद्धि तिर जाने भएकाले सबै तहका सरकार एक भएर पर्यटकीय क्षेत्रको संरक्षणसँगै विकासमा लाग्नुपर्ने बताए ।
मन्त्री शाहले आफूले जिल्लाको विकासका लागि कुनै पनि कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जिल्लामा उद्योगको स्थापना गरी दैलेखलाई आर्थिक समृद्धि तिर लैजानुपर्ने धारणा राखे । उनले मेला महोत्सवमा बाहिरका वस्तुको बिक्री वितरण गर्नु भन्दा जिल्लामा उत्पादित वस्तुको प्रचारसँगै बजारीकरण गर्नुपर्ने बताए ।
महोत्सव उद्घाटन समारोहमा बोल्दै नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले जिल्लाको पर्यटन विकासका लागि मेला महोत्सवले सहयोग पुग्ने बताए । उनले यहाँका कला संस्कृतिको उजागर गर्नु महोत्सवको उद्देश्य हुने बताए । नगरप्रमुख शर्माले यहाँका पर्यटकीय स्थलको प्रचार हुन नसकेको बताउँदै दैलेखलाई पर्यटन पदमार्गका रूपमा विकास गरिनुपर्ने बताए ।
उनले यहाँको पर्यटन विकासका लागि प्रदेश सरकारको सहयोग महत्वपूर्ण हुने बताए । नगरप्रमुख शर्माले स्थानीय सरकारले दैलेखमा पर्यटकीय स्थलको प्रचारसँगै संरक्षणमा लागि विभिन्न कामहरू गर्दै आएको बताउँदै तिन तहका सरकारले दैलेख लगायत कर्णालीका सबै जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारसँगै संरक्षणका लागि एक भएर लाग्नुपर्ने बताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले दैलेख आफै ऐतिहासिक जिल्ला भएकाले यहाँ भएका सम्पदाको प्रचार प्रसार गर्नुपर्ने धारणा राखे । उनले आम जिल्ला वासीको सुरक्षाका लागि जिल्लाको सुरक्षाका निकाय तदारुकताका साथ लागि रहेको बताए ।
उद्योग वाणिज्यसंघ दैलेखका अध्यक्ष कुलबहादुर विकले जिल्लाको पर्यटन विकासका लागि यस्ता खाले मेला महोत्सव सञ्चालन गरिनु पर्ने बताए । महोत्सव मुल समारोह आयोजक समितिका संयोजक राजु कुमार खत्रीले जिल्लामा रहेका कला संस्कृतिको संरक्षण गर्नु महोत्सवको मूल उद्देश्य रहेको बताए ।
उनले स्थानीय सरकारमा जिल्लाको कलासस्कृतिको संरक्षणका लागि विभिन्न शीर्षकमा बजेट हुने भए पनि उनीहरूले राम्रो कामका लागि सहयोग नगरेको प्रति दुख व्यक्त गरका छन् । संयोजक खत्रीले स्थानीय सरकारले विकासका नाउमा सडक मात्र भन्ने गरेकाले यहाँको सामाजिक विकास, कला साँस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।






